नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुँदैन : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा निराशा बढिरहे कुनै पनि राज्य वा शासन व्यवस्था सफल हुन नसक्ने बताएका छन्।
संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनको अनुभूति नागरिकको दैनिक जीवनमै देखिनुपर्नेमा जोड दिए। त्यसका लागि व्यवहारमा सुशासन र प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको उनको भनाइ थियो।
उनले राजनीतिक परिवर्तनलाई जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोड्न सक्ने गरी राज्यका सेवा र शासन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए। नागरिकमा आशा कायम राख्न सरकार र राज्यका संयन्त्रले उत्कृष्ट सेवा दिनुपर्ने उनको धारणा थियो।
राष्ट्रपति पौडेलले भने, “नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ, न त व्यवस्था ।”
उनका अनुसार केवल शासकीय संरचनामा परिवर्तन गर्दैमा समयअनुसार नागरिकका अपेक्षा पूरा हुन नसक्ने भएकाले संविधानले सुनिश्चित गरेका अधिकार र व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक छ।
राष्ट्रपति पौडेलले संविधानलाई भाषण र औपचारिकतामा सीमित नराखी नागरिकको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी कार्यान्वयन गर्ने संकल्प गर्न पनि आग्रह गरे।
तपाईको प्रतिक्रिया