मंगलबार ३० भदौ २०८३
खेलकुद

डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

मंगलबार भदौ ३०, २०८३/ Tuesday 09-15-26

काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। उनलाई काठमाडौं गोर्खाजले आगामी सिजनका लागि टोलीमा अनुबन्ध गरेको हो।

काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा आबद्ध गरेको जानकारी दिएको हो। ३९ वर्षीय वार्नर एनपीएलमा सहभागी हुने अहिलेसम्मकै चर्चित विदेशी क्रिकेटरमध्ये एक हुन्।

वार्नरले अस्ट्रेलियाका लागि दुईपटक एकदिवसीय विश्वकप, एकपटक टी–२० विश्वकप तथा विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितिसकेका छन्। उनले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप, २०२१ मा टी–२० विश्वकप तथा २०२३ मा विश्व टेस्ट च्याम्पियनसिप जितेका थिए।

अस्ट्रेलियाका लागि तीनवटै प्रारूपमा शतक बनाएका वार्नरले ११० टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतकसहित ३ हजार २०० भन्दा बढी रन बनाएका छन्।

समग्र टी–२० क्रिकेटमा समेत उनको प्रभावशाली प्रदर्शन छ। उनले ४३९ टी–२० खेलमा १० शतक र ११८ अर्धशतकसहित १४ हजारभन्दा बढी रन बनाएका छन्।

वार्नरले विश्वका विभिन्न चर्चित फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन्। उनले इन्डियन प्रिमियर लिग, बिग बास लिग, पाकिस्तान सुपर लिग, द हन्ड्रेड, मेजर लिग क्रिकेट, बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग तथा भाइटालिटी ब्लास्टलगायत प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

वार्नरको आगमनले एनपीएलको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ। 

 

तपाईको प्रतिक्रिया