काठमाडौँ । कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप नजिकै छारेभिरमा पहिरोसँगै ठूला ढुङ्गा खस्दा करिब १०० मिटर सडक अवरुद्ध भएको छ। शनिबार पहिरो खसेपछि करिडोरमा सवारी आवागमन ठप्प भएको हो।
सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। जिल्ला सदरमुकाम सिमकोटमा सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुलीबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेका छन्।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार सडकमा ठूला ढुङ्गा थुप्रिएकाले सामान्य उपकरणबाट सडक खुलाउन कठिन छ। सडक विभाग, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी आइतबार बिहानदेखि सडक खुलाउने तयारी गरिएको छ।
ठूला ढुङ्गा फुटाउनुपर्ने भएकाले सडक सञ्चालनमा केही समय लाग्ने र सम्भवतः सोमबार दिउँसोसम्म करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको प्रशासनले जनाएको छ।
वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ। यसबाट हुम्लाको आवतजावत, उपचार सेवा तथा खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित हुने गरेको छ।
तपाईको प्रतिक्रिया