कांग्रेस इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै संस्थापनइतर समूहले वार्ता र संवादमार्फत सहमति कायम गर्ने वा सर्वोच्च अदालतको निर्णय पर्खिनेभन्दा संस्थापन पक्ष एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै महाधिवेशन प्रक्रिया अगाडि बढाउने जनाएको हो।
संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले विशेष महाधिवेशनबाट बनेको नेतृत्वले अघि बढाउने अधिवेशन तथा महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनुको सट्टा विभाजनलाई संस्थागत गर्ने अवस्था देखिएको बताए।
उनले असोज १५ गतेदेखि वडा तहबाट सुरु हुने विभिन्न तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन पनि उनले सबैलाई अपिल गरे।
कोइरालाले कांग्रेसको शक्ति पार्टीको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा रहेको उल्लेख गर्दै विधि, विधान, वैधानिकता र एकताको मार्गबाट अघि बढ्नुपर्नेमा जोड दिए।
उनका अनुसार १५औँ महाधिवेशनले कांग्रेससँगै देशको राजनीतिक भविष्यको दिशासमेत निर्धारण गर्ने भएकाले यसलाई गम्भीर रूपमा लिन आवश्यक छ।
पार्टीभित्र असन्तुष्ट वा अलग्गिएको पक्षलाई मूलधारमा ल्याउने एकमात्र प्रभावकारी माध्यम वार्ता र संवाद भएको उनको भनाइ छ। उनले आफूहरूले पटक–पटक वार्ता र एकताका लागि आग्रह गरे पनि गगन थापा र विश्वप्रकाश शर्माबाट त्यसको सुनुवाइ नभएको आरोप लगाए।
सभापति शेरबहादुर देउवाले गगन थापालाई भेट्न समय नदिएको विषयमा सोधिएको प्रश्नमा कोइरालाले सभापतिको व्यस्तताका कारण भेट हुन नसकेको हुन सक्ने भन्दै देउवाले भेट्नै नचाहेको भन्ने कुरा सत्य नभएको बताए।
संस्थापनइतर समूहले पार्टीको भविष्यलाई केन्द्रमा राख्दै कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ।
तपाईको प्रतिक्रिया