साउदी राजधानी रियादमा हुथीको क्षेप्यास्त्र र ड्रोन आक्रमणको दाबी
काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेका छन्। आक्रमणपछि रियादको मुख्य विमानस्थल आसपास आगोको ज्वाला र बाक्लो धुवाँ देखिएको बताइएको छ।
हुथीहरूले रियादका संवेदनशील क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको तथा लाल सागरको तटीय सहर यान्बुमा रहेको साउदी तेल कम्पनी अराम्कोको एक केन्द्रलाई समेत निशाना बनाएको दाबी गरेका छन्। उनीहरूले यमनको राजधानी सानामाथि भएको आक्रमणको जवाफस्वरूप साउदी राजधानीलाई लक्षित गरिएको बताएका छन्।
रियाद विमानस्थल जाने सडक, मुख्य टर्मिनल भवन तथा आसपासका क्षेत्रमा कालो धुवाँको ठूलो मुस्लो देखिएको बताइएको छ। केही स्थानमा इन्धन भण्डारण संरचनाजस्ता देखिने क्षेत्रमा आगोको ज्वाला समेत देखिएको उल्लेख गरिएको छ।
आक्रमणबाट भएको क्षति वा मानवीय हताहतीबारे तत्काल स्पष्ट विवरण सार्वजनिक भएको छैन। साउदी नेतृत्वको हुथीविरोधी सैन्य गठबन्धनले रियादतर्फ प्रहार गरिएको एउटा क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीमार्फत नष्ट गरेको जनाएको छ।
गठबन्धनले साउदीका विभिन्न क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी गरिएका अन्य आक्रमणका प्रयास पनि विफल पारेको दाबी गरेको छ। साउदी नागरिक सुरक्षा निकायले रियाद तथा राजधानीको पूर्वमा पर्ने अल–खर्ज क्षेत्रमा सम्भावित हवाई आक्रमणको जोखिमबारे नागरिकलाई पूर्वसूचना दिएको थियो।
पछिल्लो घटनालाई साउदी अरबविरुद्ध हुथीहरूले गर्दै आएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणकै निरन्तरताका रूपमा हेरिएको छ। हुथीहरूले लाल सागर क्षेत्रमा रहेका साउदी पानीजहाजलाई समेत निशाना बनाउने चेतावनी दिँदै आएका छन्।
यस घटनाले साउदीका प्रमुख सहर, ऊर्जा पूर्वाधार तथा समुद्री यातायातको सुरक्षामाथि थप जोखिम बढाएको छ। खाडी क्षेत्रबाट विश्व बजारतर्फ तेल आपूर्तिका लागि लाल सागरको मार्ग महत्वपूर्ण रहेकाले यस्ता घटनाले क्षेत्रीय तनावसँगै ऊर्जा आपूर्तिमा समेत असर पार्न सक्ने चिन्ता बढेको छ।
तपाईको प्रतिक्रिया