‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
काठमाडौं । मनसुनजन्य विपद्का घटनालाई ध्यानमा राख्दै नेपाल प्रहरीसहितका सुरक्षा निकाय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार विपद् व्यवस्थापनमा पूर्वतयारी र छिटो प्रतिकार्यलाई प्राथमिकतामा राखेर प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ।
उनले उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गर्दै बाढी, पहिरो लगायत मौसमजन्य विपद्का घटनासँग जुध्न प्रहरी टोली तयारी अवस्थामा राखिएको जानकारी दिए। संभावित पहिरो प्रभावित क्षेत्रको पहिचान गरिसकिएको र राष्ट्रिय राजमार्ग अवरुद्ध हुन नदिन आवश्यक सतर्कता अपनाइएको उनले बताए।
प्रहरीले विभिन्न माध्यममार्फत नागरिकलाई संभावित जोखिमबारे सचेत गराउँदै आएको छ। साथै बाढी, पहिरो, आगलागी तथा भत्किएका संरचनामा फसेकाको उद्धारसम्बन्धी पूर्वाभ्याससमेत सम्पन्न भइसकेको जनाइएको छ।
प्रहरी नायब महानिरीक्षक काफ्लेले प्रहरीका तल्ला इकाइसम्म विपद् प्रतिकार्यको तयारी पूरा भइसकेको बताए। उनका अनुसार आवश्यक उद्धार तथा राहत सामग्री सबै प्रदेशमा पठाइसकिएको छ।
जिल्ला सुरक्षा समितिहरूले विगतका विपद्जन्य घटनाको अभिलेख अध्ययन गरी यस वर्ष जोखिम हुन सक्ने क्षेत्रको पहिचान गरिसकेको पनि उनले जानकारी दिए।
तपाईको प्रतिक्रिया