देउवा दम्पत्तीविरुद्ध ‘रेड नोटिस’ प्रक्रियामा इन्टरपोलले माग्यो थप कागजात
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रियामा इन्टरपोलले थप कागजात माग गरेको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले आवश्यक थप विवरणका लागि काठमाडौंस्थित नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)सँग कागजात माग गरेको हो। एक उच्च प्रहरी अधिकारीका अनुसार रेड नोटिस जारी गर्ने प्रक्रिया जारी रहे पनि आवश्यक प्रमाण कागजात अझै अपुग भएकाले इन्टरपोलले माग गरेको हो।
यसअघि २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको थियो र एनसीबी काठमाडौंमार्फत इन्टरपोललाई औपचारिक पत्राचार गरिएको थियो। तर कागजात नपुगेको भन्दै हालसम्म रेड नोटिस जारी हुन सकेको छैन।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमा थिए। उनीहरू १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए र पछि ७ चैतमा हङकङ पुगेको बताइएको छ। हालसम्म उनीहरू नेपाल फर्किएका छैनन् र स्रोतका अनुसार उनीहरू हङकङमै रहेको अनुमान गरिएको छ।
यदि रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूले उनीहरूलाई पक्राउ गर्न सक्नेछन् र त्यसपछि कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन सकिनेछ।
आरोपबारे प्रतिक्रिया दिँदै देउवाले आफूविरुद्ध लगाइएका आरोपहरू निराधार र भ्रामक भएको बताएका छन्। उनले सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको विवरण सम्बन्धित निकायमा पेश गरिसकेको पनि उल्लेख गरेका छन्।
यस प्रकरणमा देउवा परिवारसँग सम्बन्धित केही व्यक्तिहरूको आर्थिक कारोबारमाथि पनि अनुसन्धान भइरहेको छ। साथै, अघिल्ला विभिन्न विवादित प्रकरणहरूलाई पनि अनुसन्धानको दायरामा राखिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया