काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिमा सदस्यहरूको जिम्मेवारी तोकेको छ ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले विभिन्न विषयमा छलफल गर्दै उपसमितिका संयोजक चयन गरेको हो । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार भूमि व्यवस्था विशेष अभियान उपसमितिको संयोजन जिम्मेवारी डा. गोपाल दहितलाई दिइएको छ ।
त्यस्तै विपद् व्यवस्थापन उपसमितिको संयोजकमा मानबहादुर थापा तथा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिको जिम्मेवारी मोहना अन्सारीलाई दिइएको छ । सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिको संयोजन दिपेश विष्टले गर्ने भएका छन् ।
निर्वाचन प्रणाली सुधार, अवधारणा, संवाद तथा समन्वय उपसमितिको जिम्मेवारी जनक चटौतलाई सुम्पिएको छ भने पूर्वाधार विकास अवधारणा, संवाद तथा दृष्टि उपसमितिको संयोजक अमृत ज्ञवालीलाई बनाइएको छ ।
उद्यमशीलता, नवप्रवर्तन तथा रोजगार उपसमितिको नेतृत्व खगेन्द्र आचार्यले गर्ने भएका छन् । शिक्षा तथा शिक्षालय नीति एवं दृष्टि उपसमितिको संयोजन डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ भने बीपी ज्ञान केन्द्र उपसमितिको जिम्मेवारी प्रकाश लामिछानेलाई प्रदान गरिएको छ ।
यसैगरी जातीय विभेदविरुद्ध सचेतना अभियान उपसमितिको संयोजक एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिको जिम्मेवारी प्रकृति भट्टराई तथा हरित संवाद उपसमितिको संयोजन कञ्चन झालाई दिइएको छ ।
बैठकले सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । साथै प्रतिष्ठानको आन्तरिक आचारसंहिता तयार गर्न मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णयसमेत गरिएको छ ।
तपाईको प्रतिक्रिया