काठमाडौँ । आइसिसी विश्वकप लिग–२ मा शीर्ष स्थानमा रहेको स्कटल्याण्डलाई नेपालले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले हराएको हो । १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
नेपालका कप्तान रोहित पौडेल ७४ रनमा अविजित रहे । उनले ९८ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । अन्तिम ओभरमा नेपाललाई जितका लागि २ रन आवश्यक हुँदा उनले माइकल लिस्कको बलमा छक्का प्रहार गर्दै जित सुनिश्चित गरेका थिए ।
इशान पाण्डेले ६१ बलमा ५५ रनको योगदान दिए । उनले ५ चौका र २ छक्का प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय करियरको दोस्रो खेलमै पहिलो अर्धशतक पूरा गरे ।
कुशल भुर्तेलले २७ बलमा २८ रन र आशिफ शेखले १७ बलमा २९ रन बनाए । बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले २ विकेट र ब्रान्डन म्याकमुलनले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भएको थियो । नेपालका लागि ललित राजवंशीले ४ विकेट लिए । उनले ८ ओभरमा ३२ रन खर्चिए ।
सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले १–१ विकेट हात पारे । स्कटल्याण्डका ब्रान्डन म्याकमुलनले ७३ रन र माइकल इङ्लिसले ५१ रन जोडे ।
यस सिरिजको पहिलो खेलमा नेपाल डिएलएस विधिबाट २ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकाविरुद्ध १९६ रनको लक्ष्य पूरा गरेको थियो ।
यो जितसँगै नेपाल आइसिसी लिग–२ अंक तालिकामा दुई स्थान माथि उक्लिएको छ । यसअघि सातौं स्थानमा रहेको नेपालले क्यानडा र नामिबियालाई उछिनेको छ ।
नेपालले अब सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ । बाँकी ९ खेल जित्न सके नेपाल सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना कायम रहनेछ ।
तपाईको प्रतिक्रिया