कामु प्रधानन्यायाधीश मल्लद्वारा दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश
काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि गरेको सिफारिसविरुद्ध परेको दरपिठ निवेदन दर्ता गर्न र पेसी तोक्न आदेश दिएकी छन् ।
प्रधानन्यायाधीशका लागि गरिएको सिफारिसको वैधानिकतामाथि प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट दायर गरेका थिए । ती रिटहरू प्रशासनिक तहबाट गत वैशाख २५ गते दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिएको थियो ।
रिट निवेदक दिनेश त्रिपाठीका अनुसार कामु प्रधानन्यायाधीश मल्लको ध्यानाकर्षण गराइएपछि दरपिठविरुद्धको निवेदन दर्ता गरी भोलिका लागि पेसी तोक्न आदेश भएको हो ।
मल्लले आफ्नो लिखित आदेशमा कानुनले तोकेको प्रक्रिया अनुसार अदालतमा दर्ताका लागि आएको निवेदन रोक्नु न्याय प्राप्तिको अधिकारमा अवरोध सिर्जना गर्नुका साथै अदालतप्रतिको जनविश्वास कमजोर बनाउने कार्य हुने उल्लेख गरेकी छन् ।
उनले आदेशमा न्यायाधीशहरूसमक्ष मुख्य रजिस्ट्रारको ध्यानाकर्षण गराउँदा प्रधानन्यायाधीशका लागि सिफारिस भएका न्यायाधीश डा. मनोजकुमार शर्माकै निर्देशनका कारण निवेदन दर्ता नगरिएको जानकारी गराइएको पनि उल्लेख गरेकी छन् ।
साथै मल्लले नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ अनुसार प्रधानन्यायाधीशको हैसियतमा आवश्यक निर्देशन र आदेश जारी गर्नुपर्ने अवस्था आएको स्पष्ट पारेकी छन् ।
तपाईको प्रतिक्रिया