काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । कर प्रस्तावबाहेकका विषय समेटिएको उक्त प्रस्ताव अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले गत वैशाख ३१ गते संसद्मा पेश गरेका थिए ।
संसद्मा भइरहेको यो छलफललाई आगामी बजेट निर्माणअघिको महत्वपूर्ण बहसका रूपमा हेरिएको छ ।
दलीय आधारमा भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद झविलाल डुम्रेले आफ्नो पार्टी आश्वासनभन्दा काममा विश्वास गर्ने बताउँदै भाषण होइन, कार्यसम्पादनमार्फत जवाफ दिने धारणा राखे । उनले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने सिद्धार्थ राजमार्गलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे ।
नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रस्तुत सिद्धान्त र प्राथमिकताको दस्तावेज अध्ययनयोग्य भए पनि युवालाई रोजगारीतर्फ आकर्षित गर्ने स्पष्ट योजना नदेखिएको टिप्पणी गरिन् । साथै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीचको दोहोरोपन हटाएर प्रभावकारी समन्वय कायम गर्न सुझाव दिइन् ।
नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले प्रस्तावमा संविधानले परिकल्पना गरेको त्रिखम्बे अर्थनीति र समाजवादउन्मुख लक्ष्यलाई पर्याप्त रूपमा समेट्न नसकिएको बताए । उनले निजी क्षेत्रको व्यवसायिक वातावरण सुधार गर्ने विषयलाई सरकारले पर्याप्त प्राथमिकता नदिएको आरोपसमेत लगाए ।
तपाईको प्रतिक्रिया