काठमाडौँ । सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रमबारे धारणा तय गर्न नेपाल बार एसोसिएसनले पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको विषयमा दायर भएको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी लामो समय रोकिएको विषयले विवाद चुलिएपछि बारको बैठक बस्न लागेको हो । नेपाल बारका महासचिव केदार कोइरालाका अनुसार यस विषयमा संस्थागत धारणा बनाउन बैठक बोलाइएको हो ।
बैठकमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले जारी गरेको आदेश, त्यसको कार्यान्वयनको अवस्था तथा प्रतिनिधिसभामा केही सांसदहरूले व्यक्त गरेका धारणा लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
सोमबार नै कामु प्रधानन्यायाधीश मल्लले लामो समयदेखि रोकिएका केही रिट तथा निवेदन तत्काल दर्ता गरी मंगलबारका लागि पेसी तोक्न न्याय प्रशासनलाई निर्देशन दिएकी थिइन् ।
तर सर्वोच्च प्रशासनले उक्त आदेशको पालना नगरेको आरोपसँगै उत्पन्न परिस्थितिलाई लिएर नेपाल बारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न आकस्मिक बैठक डाकेको हो ।
तपाईको प्रतिक्रिया