शनिबार ९ जेठ २०८३
खेलकुद

मलेसियामाथि नेपालको शानदार जित, श्रृंखलामा लगातार दोस्रो सफलता

शुक्रबार जेठ ८, २०८३/ Friday 05-22-26

काठमाडौं– नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तरराष्ट्रिय टी–२० खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शानदार जित दर्ता गरेको छ। शुक्रबार मलेसियास्थित बायुमास ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको ८३ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमै ३ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो। नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३९ रनको महत्वपूर्ण योगदान दिइन्। कविता कुँवरले १९ रन बनाउँदा सोनी पाखरिनले १२ रन थपिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सफल भयो। मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रन बनाइन् भने धनुश्री मुहुनानले १५ रन जोडिन्। अरिनान नातास्याले १३ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालका बलरहरूले कसिलो प्रदर्शन गर्दै मलेसियालाई दबाबमा राखेका थिए। कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान २–२ विकेट लिए। पूजा महतो र सीता रानामगरले समान १–१ विकेट हात पारे।

लगातार दोस्रो जितसँगै नेपाली महिला टोलीले श्रृंखलामा आफ्नो बलियो उपस्थिति देखाएको छ।

 

तपाईको प्रतिक्रिया