काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ। पार्टी सचिवालयका अनुसार बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको छ।
यसअघि जेठ ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्यविभाजनसम्बन्धी प्रस्तावमाथि आज विस्तृत छलफल गरी अन्तिम निर्णय गर्ने तयारी गरिएको नेताहरूले बताएका छन्।
बैठकबाट पारित कार्यविभाजनलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी र सम्बन्धित नेताहरूसम्म पठाइने एमालेले जनाएको छ।
११औँ महाधिवेशनपछि हालसम्म नेताहरूलाई अस्थायी जिम्मेवारी मात्रै दिइएको अवस्थामा एमालेले अब नयाँ ढाँचामा स्थायी जिम्मेवारी बाँडफाँट गर्न लागेको हो। आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीले नेताहरूको भूमिका र जिम्मेवारी पुनः व्यवस्थित गर्न लागेको बताइएको छ।
तपाईको प्रतिक्रिया