काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गर्दै शृङ्खलाको सुखद अन्त्य गरेको हो।
नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमै अलआउट भयो। अमेरिकाका सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले समान २/२ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रनको विशाल योगफल तयार गरेको थियो। यो कीर्तिपुर मैदानमा नेपालले बनाएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकै उच्च स्कोर हो। यसअघि नेपालले सन् २०२३ मा ओमानविरुद्ध ३१० रन बनाएको थियो।नेपालका लागि ईशान पाण्डेले उत्कृष्ट ८४ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६ तथा आसिफ शेखले ४३ रनको योगदान दिए। अमेरिकाका शुभम् रन्जनेले ३ विकेट लिए। यही शृङ्खलाबाट ओडीआई डेब्यु गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक पनि हो।
कीर्तिपुरमा सम्पन्न लिग–टु शृङ्खलामा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी थिए। नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भए पनि त्यसपछि लगातार उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकालाई ९ विकेट र स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो।
हाल लिग–टु तालिकामा नेपाल २८ खेलबाट २४ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ। अमेरिका ३८ अङ्कसहित शीर्ष स्थानमा रहँदा समान अङ्क भएको स्कटल्यान्ड नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ।
घरेलु शृङ्खलामा नेपालको प्रदर्शन प्रभावशाली रह्यो। नेपालले पछिल्ला ८ खेलमध्ये ६ खेलमा जित निकाल्दै लिग–टुमा बलियो पुनरागमनको संकेत दिएको छ।
तपाईको प्रतिक्रिया