फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङस्थित टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः नियमित सञ्चालनमा आएको छ। फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार यसअघि ओलाङचुङ्गोलामा स्थानीय कार्यालय सहयोगीकै भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो।
कोभिड–१९ महामारी सुरु भएपछि पूर्ण रूपमा बन्द भएको भन्सार कार्यालय अहिले पुनः सञ्चालनमा ल्याइएको हो। बिहीबार नायब सुब्बा प्रदीप धिताललाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएपछि नाका नियमित रूपमा सञ्चालनमा आएको वडाध्यक्ष लामाले बताए।
उनका अनुसार ओलाङचुङ्गोला नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक नाका हो। ओलाङचुङ्गोलाबाट करिब २४ किलोमिटर दूरी पार गरेपछि नेपाल–चीन सीमास्थित टिप्ताला नाका पुग्न सकिन्छ।
स्थानीय जनप्रतिनिधिका अनुसार करिब चार दशकअघि निर्माण गरिएको भन्सार कार्यालय भवन अहिले जीर्ण बनेको छ। नयाँ भवन निर्माण तथा आवश्यक सामग्री व्यवस्थापनका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थ मन्त्रालय र भन्सार विभागसँग पहल गरिएको वडाध्यक्ष लामाले जानकारी दिए।
भन्सार कार्यालयमा कर्मचारी खटाउन जिल्लाका विभिन्न अभियन्ताले भन्सार विभागलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए। ओलाङचुङ्गोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित रूपमा राजस्व संकलन हुने अपेक्षासहित स्थानीयवासी उत्साहित बनेका छन्।
तपाईको प्रतिक्रिया