समाज
गोङ्गबुबाट एसएलआर म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ
शनिबार जेठ ९, २०८३/ Saturday 05-23-26
काठमाडौं। प्रहरीले काठमाडौँको गोङ्गबुबाट एसएलआर राइफलमा प्रयोग हुने म्याग्जिन तथा ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सप्तरीकै राजविराज–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्दै आएका २२ वर्षीय ओमशंकर गुप्ता रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार टोखा नगरपालिका–९ गोङ्गबुस्थित शिव मन्दिर नजिक रहेको काबेली गेष्टहाउसमा गरिएको जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट एसएलआर हतियारमा प्रयोग हुने एक थान म्याग्जिन, ४५ राउण्ड गोली र मेटलको ‘नक’ बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया