आइतबार १० जेठ २०८३
बिश्वो

अमेरिकी ग्रीन कार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

शनिबार जेठ ९, २०८३/ Saturday 05-23-26

काठमाडौं। अमेरिकाले ‘ग्रीन कार्ड’ प्राप्त गर्न चाहने विदेशी नागरिकका लागि आप्रवासन नियम थप कडा बनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अब अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ‘ग्रीन कार्ड’का लागि आवेदन दिन आफ्नै देश फर्किनुपर्ने व्यवस्था लागू गरिएको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले नयाँ नीति सार्वजनिक गर्दै अमेरिकामै बसेर अस्थायी बसाइँस्थितिलाई स्थायी बसोबास अनुमतिमा परिवर्तन गर्न नपाइने स्पष्ट पारेको हो।

अमेरिकी गृह सुरक्षा विभागका अनुसार ‘ग्रीन कार्ड’ लिन चाहने विदेशी नागरिकले अब आफ्नै देशस्थित अमेरिकी दूतावासमार्फत प्रक्रिया पूरा गर्नुपर्नेछ। विभागले यस कदमलाई आप्रवासन कानुनको प्रभावकारी कार्यान्वयनका रूपमा व्याख्या गरेको छ।

‘लुपहोल’ प्रयोग गरेर स्थायी बसोबास अनुमति लिने प्रवृत्ति रोक्न नयाँ नीति ल्याइएको जनाएको छ। साथै, यसले अन्य आवेदन र मुद्दा छिटो टुंग्याउन स्रोत तथा जनशक्ति व्यवस्थापनमा सहयोग पुग्ने दाबी पनि गरिएको छ।

तर, शरणार्थी तथा आप्रवासीको क्षेत्रमा काम गर्ने संस्थाहरूले भने निर्णयको विरोध गरेका छन्। उनीहरूले मानव बेचबिखन, दुर्व्यवहार तथा हिंसाबाट पीडित व्यक्तिलाई पुनः जोखिमपूर्ण देश फर्कन बाध्य पार्ने खतरा रहेको बताएका छन्।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासन कडाइ अभियानअन्तर्गत आएको पछिल्लो निर्णय हो। यसअघि पनि ट्रम्प प्रशासनले विद्यार्थी, सञ्चारकर्मी र सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागीहरूको भिसा अवधि छोट्याएको थियो।

 

तपाईको प्रतिक्रिया