काठमाडौं। नेपाल टेलिकमले डोल्पाको कागकोटमा फोर-जी सेवा सञ्चालनमा ल्याएको छ।
छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा शुक्रबारदेखि फोर-जी सेवा सुरु गरिएको कम्पनीका प्रवक्ता कमल लामिछानेले जानकारी दिए।
नेपाल टेलिकमले समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको मुकोट टावरमा फोर-जी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सेवा विस्तार गरेको हो।
यससँगै नेपाल टेलिकमको फोर-जी सेवा पुगेका स्थानीय तहको संख्या ७५० पुगेको कम्पनीले जनाएको छ।
यो माथिल्लो डोल्पामा सञ्चालनमा आएको पहिलो फोर-जी साइट हो। टेलिकमका अनुसार डोल्पो बुद्ध, शे–फोक्सुन्डो र मनाङको नार्पा भूमि गाउँपालिकामा भने अझै फोर-जी सेवा पुग्न बाँकी छ।
तपाईको प्रतिक्रिया