बुधबार २४ असार २०८३
राजनीति

संविधान संशोधनबारे कांग्रेसले भाेली दृष्टिकोण सार्वजनिक गर्ने

बुधबार असार २४, २०८३/ Wednesday 07-08-26

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनबारे आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्न बिहीबार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीले गठन गरेको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्ने विज्ञ समितिको आयोजनामा ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रम बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने जनाएको छ।

उक्त कार्यक्रममा संविधान संशोधनसम्बन्धी कांग्रेसको धारणा प्रस्तुत गरिनुका साथै विज्ञ समितिले तयार पारेका सुझावमाथि छलफल हुने कार्यक्रम रहेको छ। कार्यक्रममा पार्टीका शीर्ष नेता, कार्यकर्ता, संविधानविद्, बुद्धिजीवी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समेत उपस्थिति रहने पार्टीले जानकारी दिएको छ।

संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समितिको संयोजक उपसभापति पुष्पा भुसाल रहेकी छन्। समितिमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ता रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक सदस्यका रूपमा रहेका छन्।

तपाईको प्रतिक्रिया