बुधबार २४ असार २०८३
समाज

लुम्बिनी र बनारसलाई धार्मिक गन्तव्यका रूपमा प्रचार गर्ने सहमति

बुधबार असार २४, २०८३/ Wednesday 07-08-26

लुम्बिनी नेपालको लुम्बिनी र भारतको बनारस (वाराणसी) लाई संयुक्त रूपमा अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने सहमति भएको छ। लुम्बिनीमा सम्पन्न तीनदिने लुम्बिनी–बनारस बीटूबी ट्राभल मार्ट तथा फ्याम ट्रिप कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीले पाँचबुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै सहकार्यलाई अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।

लुम्बिनी होटल संघको पहलमा आयोजित कार्यक्रममा नेपाल र भारतका ट्राभल एण्ड टुर अपरेटर, होटल व्यवसायी तथा पर्यटन क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य बुद्ध जन्मस्थल लुम्बिनी र भारतको सांस्कृतिक तथा धार्मिक केन्द्र बनारसलाई एउटै पर्यटन सर्किटका रूपमा विकास गर्नु रहेको थियो।

समझदारीअनुसार लुम्बिनीमा आउने पर्यटकलाई कम्तीमा एक रात बस्ने वातावरण तयार गरिने, रुपन्देहीको कालीदह र भारतको कक्रहवा बजारलाई ‘फ्रेन्डसिप सिटी’ का रूपमा विकास गर्न पहल गरिने तथा नयाँ पर्यटन प्याकेज तयार पारिनेछ। यस्तै, दुवै गन्तव्यबीच सडक सञ्जाल र यातायात सम्पर्क विस्तार गर्न पहल गरिने, साथै सञ्चारकर्मी, कन्टेन्ट क्रियटर, ट्राभल एजेन्सी र होटल व्यवसायीबीच अनुभव आदान–प्रदानका लागि भ्रमण कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ।

समझदारीपत्रमा लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्मा र बनारस टुरिजम गिल्डका अध्यक्ष सुभाष कपुरले हस्ताक्षर गरेका छन्।

कार्यक्रमका क्रममा लुम्बिनी क्षेत्रका होटल तथा ट्राभल कम्पनीहरूले आफ्ना सेवा, सुविधा र पर्यटन प्याकेज प्रदर्शन गरेका थिए। भारतीय प्रतिनिधिहरूले नेपाली होटलहरूको सेवा तथा पूर्वाधारबारे जानकारी लिँदै आगामी दिनमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बनारस टुरिजम गिल्डका अध्यक्ष कपुरका अनुसार प्रारम्भिक छलफलले दुवै देशका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने आधार तयार गरेको छ। अब उपयुक्त होटल र पर्यटन प्याकेज छनोट गर्दै एकअर्काका पर्यटक आदान–प्रदानमा जोड दिइने उनले बताए।

कार्यक्रममा वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वबारे प्रस्तुति दिएका थिए। भारतीय प्रतिनिधिमण्डललाई लुम्बिनी, तिलौराकोट, निग्राधाराम, रामग्रामलगायत बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थलहरूको अवलोकन भ्रमण पनि गराइएको थियो।

लुम्बिनी होटल संघका अध्यक्ष शर्माले निजी क्षेत्रको पहलमा आयोजना गरिएको यो पहिलो ट्राभल मार्ट सफल भएको बताए। उनका अनुसार यसले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तार गर्न र नेपाल–भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना सिर्जना गरेको छ।

बनारसका सांकृत टुरजोनका निर्देशक अभिषेक सांकृतले बुद्ध जन्मस्थल लुम्बिनी र मोक्षनगरी बनारसलाई एउटै धार्मिक पर्यटन मार्गमा जोड्नु दुवै देशका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया