बिहीबार १४ जेठ २०८३
खेलकुद

एसिया कप छनोटमा आज नेपाल र चीन भिड्दै

बुधबार जेठ १३, २०८३/ Wednesday 05-27-26

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज एसीसी महिला टी–२० एसिया कप छनोटअन्तर्गत समूह चरणमा चीनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको वायोमास ओभलमा हुने नेपाल र चीनबीचको खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपाल र चीनबीच करिब सात वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । दुई टोलीबीच पछिल्लो पटक सन् २०१९ को फेब्रुअरीमा भेट भएको थियो । त्यसयता पहिलो पटक दुवै टोली आमनेसामने हुन लागेका हुन् ।

छनोट प्रतियोगिताको पहिलो खेलमा इन्डोनेसियामाथि सहज जित निकाल्दै चीनले सुखद सुरुवात गरेको थियो । नेपाल भने आजको खेलबाट प्रतियोगिताको यात्रा सुरु गर्दैछ । चीनविरुद्ध उत्कृष्ट इतिहास बनाएको नेपाली टोली लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ ।

नेपाल र चीनबीच यसअघि भएका दुवै टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी भएको थियो । पहिलो भेटमा नेपालले सन् २०१९ जनवरी १२ मा चीनलाई १० विकेटले हराएको थियो । त्यसपछि फेब्रुअरीमा भएको दोस्रो खेलमा नेपाल ५ रनले विजयी बनेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो महिला टी–२० वरियतामा नेपाल २२औँ स्थानमा रहेको छ भने चीन ४३औँ स्थानमा छ । वरियता र विगतको नतिजाका आधारमा नेपाल आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा रहेको छ।

 

तपाईको प्रतिक्रिया