नेपाली चिया भारतमा निर्यात सहजीकरण हुँदैछ : उद्योगमन्त्री
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले भारततर्फ हुने नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानउन्मुख रहेको बताएकी छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले चिया निर्यात सहज बनाउन मन्त्रालयले आवश्यक पहल अघि बढाएको जानकारी गराइन् ।
मन्त्रीका अनुसार नेपालमा वार्षिक दुई करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेको छ, जसको ८० देखि ९० प्रतिशतसम्म भारत निर्यात हुने गर्दछ । पछिल्लो समय निर्यातमा देखिएको अवरोध हटाउन मन्त्रालयले गत चैत ३० गते नै सम्बन्धित निकायलाई पत्राचार गरेको उनले बताइन् । साथै, समस्या समाधानका लागि वैशाख २८ गते चिया विकास बोर्डसँग पनि छलफल गरिएको जानकारी दिइन् ।
उनले अर्थोडक्स चिया मुख्य रूपमा भारतमै निर्यात हुने गरेको उल्लेख गर्दै नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा चिया पठाउनसमेत सहजीकरणको प्रयास भइरहेको बताइन् । यसका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय सम्बन्धित मन्त्रालयसँग पनि संवाद भइरहेको उनले जानकारी गराइन् ।
मन्त्री गौरी कुमारीले उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य निर्धारणको जिम्मेवारी भन्सार विभागलाई दिइएको र गुणस्तर अनुगमनको काम उपभोक्ता विभागले गरिरहेको पनि स्पष्ट पारिन् ।
त्यसैगरी, सर्वोच्च अदालतको आदेशअनुसार लुम्बिनी क्षेत्रभित्र रहेका उद्योग स्थानान्तरण प्रक्रिया अघि बढाइएको उनले बताइन् । सर्वोच्चले विश्वसम्पदा सूचीमा रहेको लुम्बिनी क्षेत्रको पर्खालबाट १५ किलोमिटरभित्र सञ्चालनमा रहेका उद्योग हटाउन आदेश दिएको थियो ।
तपाईको प्रतिक्रिया