काठमाडौँ । एसियन गेम्स छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार मलेसियामा सम्पन्न खेलमा नेपालले चीनलाई १९ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो । चीनका लागि कप्तान जु मिंगेले सर्वाधिक ३० रन बनाइन् ।
बलिङतर्फ नेपालकी रिया शर्माले २ विकेट लिँदा मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १–१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रनको योगफल तयार गरेको थियो । नेपालका लागि उपकप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै ५७ बलमा ६ चौकासहित ६३ रन बनाइन् । ओपनर सम्झना खड्का ४ रनमा आउट हुँदा सोनी पाख्रिनले १८ रन जोडेकी थिइन् । रुवी पोद्दार २२ रनमा अविजित रहिन् ।
चीनका बलर मा रुइकेले २ विकेट लिएकी थिइन् । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भोलि इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ । अर्को समूहमा थाइल्यान्ड, आयोजक मलेसिया र हङकङ रहेका छन् ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेता दुई टोली र तेस्रो स्थान हासिल गर्ने एक टोली गरी कुल तीन टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि छनोट हुनेछन् ।
तपाईको प्रतिक्रिया