सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ महत्वपूर्ण निर्णय गरेको छ । बुधबार बसेको बैठकले नियमावली स्वीकृतिदेखि विधेयक तर्जुमा अवधारणापत्रसम्मका निर्णय पारित गरेको हो ।
सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । साथै, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई खटाउने निर्णय पनि गरिएको छ ।
त्यसैगरी, योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ । सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा अवधारणापत्रले पनि बैठकबाट सैद्धान्तिक स्वीकृति पाएको छ ।
मन्त्रिपरिषद्ले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएका बाधा–अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ । साथै, कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ लाई समेत स्वीकृति दिइएको प्रवक्ता शाहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया