नेपाल संस्कृत विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु
काठमाडौँ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ । उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै आवेदन खुला गरेको हो ।
समितिले जेठ ११ गते स्वीकृत ‘नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ अनुसार इच्छुक तथा योग्य व्यक्तिबाट आवेदन मागेको जनाएको छ । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको लिंकमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र निष्पक्ष बनाउन नयाँ कार्यविधि लागू गरिएको समितिले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ अनुसार गठित सिफारिस समितिले उच्च शिक्षामा अनुभव भएका योग्य व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नेछ ।
कार्यविधिअनुसार उम्मेदवारको शैक्षिक योग्यता, अनुसन्धानमूलक लेख, शोधपत्र, प्रस्तुतीकरण, अन्तर्वार्ता तथा विश्वविद्यालयका लागि तयार पारिएको चारवर्षे रणनीतिक कार्ययोजनाको आधारमा मूल्याङ्कन गरिनेछ । त्यसपछि प्रत्येक पदका लागि योग्यता क्रमअनुसार बढीमा तीन–तीन जना उम्मेदवार सिफारिस गरिने व्यवस्था छ ।
उपकुलपति र शिक्षाध्यक्ष पदको मूल्याङ्कन १०० पूर्णाङ्कमा आधारित हुनेछ । प्रकाशित अनुसन्धान, पुस्तक, प्रशासनिक अनुभव, प्रस्तुतीकरण र अन्तर्वार्तालाई अंक प्रदान गरिनेछ । अत्यधिक कम वा धेरै अंक दिँदा कारण खुलाउनुपर्ने प्रावधान पनि राखिएको छ ।
नयाँ कार्यविधिले उपकुलपति बन्न विद्यावारिधि उपाधि अनिवार्य गरेको छ । साथै, कम्तीमा १० वर्षको अनुसन्धान तथा प्राज्ञिक अनुभव, उच्च नैतिक चरित्र र राजनीतिक दलको सदस्य नभएको हुनुपर्नेछ । उम्मेदवारले आफ्ना प्रकाशित लेख–रचनाको प्रतिलिपिसहित नेपाल संस्कृत विश्वविद्यालयसम्बन्धी बढीमा पाँच हजार शब्दको शोधपत्र र विश्वविद्यालयका लागि चार वर्षे रणनीतिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ ।
यस्तै, कुलसचिव पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट संस्कृत भाषा वा साहित्यमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको तथा उच्च शिक्षा क्षेत्रमा प्राविधिक, शैक्षिक प्रशासन वा अनुसन्धानमा १० वर्षको अनुभव भएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया