बिहीबार १४ जेठ २०८३
खेलकुद

नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य

बुधबार जेठ १३, २०८३/ Wednesday 05-27-26

काठमाडौं । पूजा महतोको शानदार अर्धशतकको मद्दतमा नेपालले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत चीनलाई १२६ रनको लक्ष्य दिएको छ ।

मलेसियास्थित बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२५ रन बनायो ।

नेपालका लागि पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै ५७ बलमा ६ चौकासहित ६३ रन जोडिन् । रुवी पोदार २२ रनमा अविजित रहँदा सोनी पाख्रिनले १८ रनको योगदान दिइन् । पूजा र रुवीबीच चौथो विकेटका लागि भएको ६४ रनको साझेदारी नेपालका लागि महत्वपूर्ण बन्यो ।

चीनतर्फ मा रुइकले दुई विकेट लिइन् भने वाङ हुइयिङ र जियापिङ लीले समान एक–एक विकेट हात पारे ।

प्रतियोगितामा नेपाल सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको छ भने चीन लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा सुनिश्चित गर्ने योजनामा छ । चीनले मंगलबार इन्डोनेसियालाई तीन विकेटले हराउँदै विजयी सुरुआत गरेको थियो ।

नेपाल र चीनबीच यसअघि दुई वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् र दुवैमा नेपाल विजयी भएको इतिहास छ । नेपालले सन् २०१९ जनवरीमा भएको पहिलो भेटमा चीनलाई १० विकेटले हराएको थियो । त्यही वर्ष फेब्रुअरीमा भएको दोस्रो खेलमा नेपाल पाँच रनले विजयी बनेको थियो ।

तपाईको प्रतिक्रिया