जेन–जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न सिफारिस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा कार्कीले दिएका सार्वजनिक अभिव्यक्तिहरूलाई लिएर उनीमाथि अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालिएको हो । आयोगका अनुसार प्रदर्शनअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपछि सामाजिक सञ्जालमा उनले दिएका अभिव्यक्तिले आन्दोलनलाई उक्साउन भूमिका खेलेको हुन सक्ने भन्दै छानबिन आवश्यक रहेको सिफारिस गरिएको छ ।
त्यसैगरी, आयोगले तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालको नाम पनि अनुसन्धानका लागि सिफारिस गरेको छ । उनीहरू पनि जेन–जी आन्दोलनका क्रममा सडकमा पुगेर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै छानबिनको दायरामा ल्याउनुपर्ने आयोगको भनाइ छ ।
यसअघि सरकारले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र दमनको छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले गत फागुन २४ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो ।
तपाईको प्रतिक्रिया