बिहीबार १४ जेठ २०८३
समाज

मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इद मनाईंदै

बिहीबार जेठ १४, २०८३/ Thursday 05-28-26

काठमाडौं।  मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा श्रद्धा, उत्साह र हर्षोल्लासका साथ मनाइएको छ। पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व (इदुल फित्र) सम्पन्न भएको करिब ७० दिनपछि बकर इद मनाउने परम्परा रहिआएको छ। इस्लामिक पात्रोअनुसार दिल हिज्जा महिनाको १०औँ दिन यो पर्व मनाइन्छ।

यस अवसरमा मुस्लिम समुदायका मानिस बिहानै स्नान गरी मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका छन्। नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना साटासाट गर्ने परम्परा रहेको छ।

बकर इदका अवसरमा मक्का–मदिना पुगेर हज गर्नु शुभ मानिने भए पनि विभिन्न कारणले विदेश जान नसकेका धेरै श्रद्धालुले यस वर्ष स्वदेशमै पर्व मनाएका छन्।

पर्वलाई धार्मिक मर्यादा र सुरक्षित वातावरणमा सम्पन्न गर्न मस्जिद, इदगाह तथा अन्य धार्मिकस्थलमा आवश्यक सतर्कता अपनाइएको छ। यस दिन अल्लाहप्रति आस्था र समर्पण व्यक्त गर्दै धर्मले मान्यता दिएका जनावरको कुर्बानी दिने परम्परा पनि रहेको छ।

धार्मिक विश्वासअनुसार अल्लाहका नबी इब्राहिमले आफ्ना प्रिय पुत्रलाई कुर्बानी दिन आदेश पाएपछि पूर्ण समर्पणका साथ त्यसलाई स्वीकार गरेका थिए। उनको निष्ठा र विश्वासबाट प्रसन्न भई अल्लाहले मानवको सट्टा दुम्बाको कुर्बानी स्वीकार गरेको धार्मिक मान्यता छ। यही घटनाको सम्झनामा मुस्लिम समुदायले बकर इदमा कुर्बानी दिने परम्परा कायम राखेका छन्।

कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने चलन रहेको छ। एक भाग गरिब तथा विपन्नलाई, अर्को भाग आफन्त र इष्टमित्रलाई तथा तेस्रो भाग आफ्नै परिवारका लागि राख्ने धार्मिक परम्परा रहेको मुस्लिम समुदायले जनाएको छ।

 

तपाईको प्रतिक्रिया