बिहीबार १४ जेठ २०८३
राजनीति

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्नु जनताप्रति अनुत्तरदायी र गैरजिम्मेवारीपन : कांग्रेस

बिहीबार जेठ १४, २०८३/ Thursday 05-28-26

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले यसलाई जनताप्रतिको उत्तरदायित्वको अभाव र गैरजिम्मेवार व्यवहारको रूपमा टिप्पणी गरेकी हुन् ।

बिहीबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विगतमा गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको स्मरण गराइन् ।

सञ्चारकर्मीले ‘हरेक वर्ष प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्ने अभ्यास रहँदै आएकोमा प्रधानमन्त्री बालेन शाह आएपछि त्यो किन रोकियो ?’ भन्ने प्रश्न गरेका थिए । त्यसको जवाफमा थापाले प्रधानमन्त्रीले अनुपस्थित हुनु वा सम्बोधन नगर्नुको स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘अहिलेसम्म यस्तो अभ्यास रोकिएको थिएन । यदि उहाँ आउन सक्नुहुन्नथ्यो भने त्यसको कारण जनतालाई जानकारी गराउनुपर्थ्यो ।’

थापाले राष्ट्रिय महत्वका कार्यक्रममा प्रधानमन्त्रीको भूमिका जिम्मेवार र उत्तरदायी हुनुपर्ने धारणा पनि राखिन् ।

तपाईको प्रतिक्रिया