काठमाडौं । आगामी मे ३१ देखि सिंगापुरमा सुरु हुने एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विशेष कार्यक्रम आयोजना गर्दै टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको हो ।
जुन ८ सम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ मलेसिया र चीन पनि रहेका छन् । यस्तै समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर छन् ।
दुवै समूहबाट शीर्ष दुई टोली एसियन गेम्सका लागि छनोट हुनेछन् । नेपालले आफ्नो पहिलो खेल मे ३१ मा चीनविरुद्ध खेल्दै प्रतियोगिताको यात्रा सुरु गर्ने तालिका रहेको छ ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा कप्तान दीपेन्द्र सिंह ऐरीसहित रोहित पौडेल, लोकेश बम, नन्दन यादव, करण केसी, कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, शाहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल र सोमपाल कामी रहेका छन् ।
तपाईको प्रतिक्रिया