बिहीबार १४ जेठ २०८३
समाज

पोखराको पृथ्वीचोकमा चल्यो महानगरको डोजर

बिहीबार जेठ १४, २०८३/ Thursday 05-28-26

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा निर्माण गरिएका अवैध तथा अतिक्रमित संरचना हटाउने अभियान अन्तर्गत बिहीबार डोजर चलाएको छ । महानगरले सहारा क्लब, सामुदायिक सेवा केन्द्र, जिफन्ट र ट्रेड युनियन कांग्रेसलगायत विभिन्न संघसंस्थाका भवन भत्काएको हो ।

पृथ्वीचोकको मुख्य सडक हुँदै हङकङ बजारबाट नयाँबजार जाने सडक किनारामा रहेका संरचना हटाउने तयारीसँगै त्यहाँका व्यवसायीले सटर खाली गर्न थालेका थिए । महानगरपालिकाका अनुसार २०३२ सालमा पोखरा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गा विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरी प्रयोग गर्दै आएकाले संरचना हटाउन थालिएको हो ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बहुमूल्य सरकारी तथा सार्वजनिक जग्गा लामो समयदेखि राजनीतिक दल, तिनका भ्रातृ संगठन, व्यापारिक समूह र अव्यवस्थित बसोवासीको अतिक्रमणमा परेको बताइएको छ ।

नगर विकास समितिले यसअघि ३५ दिने सूचना जारी गर्दै अनुमति बिना निर्माण गरिएका संरचना आफैं हटाउन आग्रह गरेको थियो । सो अवधिभित्र संरचना खाली गरिएपछि अहिले भत्काउने काम अघि बढाइएको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए ।

महानगरपालिकाले पोखराका विभिन्न वडामा सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका अवैध संरचना क्रमशः हटाउँदै जाने नीति लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया