स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याउन चिकित्सक संघको माग
काठमाडौँ । नेपाल चिकित्सक संघले सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कुल राष्ट्रिय बजेटको कम्तीमा १० प्रतिशत रकम छुट्याउनुपर्ने माग गरेको छ । बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत संघले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी नगरी नागरिकलाई गुणस्तरीय सेवा दिन कठिन हुने जनाएको हो ।
संघका अनुसार स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी र सम्मानजनक बनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई देशमै काम गर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न पनि स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन अपरिहार्य रहेको संघले उल्लेख गरेको छ ।
हालको बजेट वितरण प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै संघले स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि ६ बुँदे प्रस्ताव अघि सारेको जनाएको छ ।
संघले स्वास्थ्य पूर्वाधार विकास, दक्ष जनशक्ति व्यवस्थापन, सेवा गुणस्तर सुधार तथा ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिएको छ ।
तपाईको प्रतिक्रिया