पार्टी एकताका लागि जसपा नेपालले गठन गर्यो वार्ता समिति
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्य राजनीतिक दलहरूसँग एकता र सहकार्यको सम्भावना खोज्न वार्ता समिति गठन गरेको छ । पार्टीले केन्द्रीय सदस्यहरू रकम चेम्जोङ, रेणु यादव र डा. सुरेन्द्रकुमार झालाई वार्ताको जिम्मेवारी दिएको जनाएको छ ।
जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच हालै एकता भइसकेको छ भने दुवै दलबीच समायोजन प्रक्रिया पनि अघि बढिरहेको छ । पार्टीले समायोजनलाई व्यवस्थित बनाउन विभिन्न कार्यदल गठन गर्नुका साथै अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
यसैबीच, डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग पनि एकताको विषयमा छलफल जारी रहेको जसपाले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्रकुमार झाका अनुसार जनमत पार्टीसँगको संवाद सकारात्मक दिशामा अघि बढिरहेको छ ।
उनले अध्यक्षस्तरमै एकताको विषयमा छलफल भइसकेको र अन्य नेताहरूबीच पनि निरन्तर संवाद चलिरहेको जानकारी दिए । दुवै दल एकताको पक्षमा सकारात्मक देखिएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया