आज देशभर बदली, केही क्षेत्रमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशभरको मौसममा बदली देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ।
हाल कोशी, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
महाशाखाले देशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
आज राति सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसममा आएको परिवर्तनका कारण पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा, यात्रु तथा कृषकहरूलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया