महिलाविरुद्धका सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तीकरणलाई व्यवहारमा उतार्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपालको संविधानले महिलाका अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरेका छन्। साथै राज्यका सबै निकायमा महिलाको समानुपातिक, समावेशी र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार लागिपरेको बताएका छन्।
उनले बालविवाह, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथा र लैङ्गिक, घरेलु तथा डिजिटल हिंसा अन्त्य गर्न कानुनी व्यवस्थासँगै सामाजिक चेतनाको विकास आवश्यक रहेको बताए। महिला अधिकारको संरक्षण र प्रवर्द्धनका लागि राज्य, समुदाय तथा सरोकारवाला सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका महिलालाई सशक्त बनाउँदै आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। साथै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
तपाईको प्रतिक्रिया