काठमाण्डौ। एशियाली खेलकुद महिला टी–२० छनोटको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ । आज भएको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले ८ विकेट गुमाएर भेटायो । मलेसियाकी एल्सा हन्टरले ४८ रन बनाइन् । नेपालकी रिया शर्माले ३ तथा मनिसा उपाध्याय र रुविना क्षेत्रीले समान २ विकेट लिए ।
त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १ सय २७ रन बनायो । नेपालकी कप्तान इन्दु बर्माले अविजित ४६ रन बनाइन् । मलेसियाकी विनिफ्रेड दुराइसिंघमले २ विकेट लिइन् । अब मलेसियाले उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ भने नेपालले तेश्रो स्थानका लागि चीनसँग खेल्नेछ ।
आज भएको अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई ८३ रनले हराउँदै फाइनलमा पुगेको छ । यो प्रतियोगिताबाट शीर्ष तीन देश एसियाली खेलकुदमा छनोट हुनेछन् । थाइल्यान्ड र मलेसिया फाइनलमा पुगेसँगै एशियाली खेलकुदका लागि छनोट भएका छन् ।
एशियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनोट भएका छन् । एशियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देश सहभागी हुनेछन् ।
तपाईको प्रतिक्रिया