सोमबार १८ जेठ २०८३
राजनीति

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान

सोमबार जेठ १८, २०८३/ Monday 06-01-26

काठमाडौं। प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्। सोमबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले उक्त अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान कमजोर बनाएको निष्कर्ष निकाल्दै क्षमायाचनासहित फिर्ता लिनुपर्ने निर्णय गरेको हो।

बैठकपछि नेकपा एमालेकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको भनाइले नेपाल राष्ट्रको शिर झुकेको र नेपालीहरूको स्वाभिमानमा चोट पुगेको बताइन्। उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म संसद्मा विपक्षीहरूको विरोध जारी रहने चेतावनी दिइन्।

विपक्षी दलहरूले संसद्लाई एकपक्षीय ढंगले अघि बढाइएको भन्दै असन्तुष्टि पनि जनाएका छन्। प्रतिनिधिसभा नियमावली पारित गर्दा प्रतिपक्षका सुझाव र विषयवस्तु सम्बोधन नगरिएको उनीहरूको आरोप छ। कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै संसद्मा स्पष्ट जवाफ दिनुपर्ने बताए। यस्तै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।

 

तपाईको प्रतिक्रिया