आरेन राईले प्रधानमन्त्रीलाई भने- भारतले माग्यो भने कुन भूमि फिर्ता दिने?
काठमाडौँ । श्रम संस्कृति पार्टीका सचेतक आरेन राईले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा आएर स्पष्टिकरण दिन र माफी माग्न आग्रह गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइ तथ्यहीन र राष्ट्रहितविपरीत रहेको दाबी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको बताए।
“प्रधानमन्त्रीकै भनाइलाई आधार मान्ने हो भने भारतले भूमि माग्यो भने कुन भूमि फिर्ता दिने हो?” भन्दै राईले सरकारको धारणा स्पष्ट गर्न माग गरे। उनले यस्ता संवेदनशील विषयमा प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने बताए।
राईले सभामुखमार्फत रुलिङ गरी प्रधानमन्त्रीलाई संसद्मा बोलाउन आग्रह गर्दै आफ्नो अभिव्यक्तिप्रति माफी नमागेसम्म संसद्को कारबाही सहज रूपमा अघि बढ्न नसक्ने चेतावनीसमेत दिए।
उनले राष्ट्रिय हितसँग जोडिएका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति जिम्मेवार र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए।
तपाईको प्रतिक्रिया