प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आजदेखि आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि दफाबार छलफल सुरु हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार सरकारले प्रस्तुत गरेको बजेटका विभिन्न शीर्षकमाथि सांसदहरूले क्रमशः छलफल गर्ने कार्यक्रम रहेको छ।
यसअघि आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा नियमावली, २०८३ पारित गरेको छ। बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रस्तुत गरेको प्रतिवेदन बहुमतले स्वीकृत गरेपछि नियमावली पारित भएको हो।
सभामुख डोलप्रसाद अर्यालले प्रतिवेदनअन्तर्गतका नियम २ देखि २६३ तथा अनुसूची १ देखि ७ सम्मलाई नियमावलीको अभिन्न अङ्ग भएको घोषणा गर्नुभयो। साथै, समितिका सभापति पराजुलीले स्वीकार गरेका संशोधनहरू पनि बैठकले अनुमोदन गरेको छ। नयाँ नियमावली पारित भएसँगै प्रतिनिधिसभाको संसदीय प्रक्रिया थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया