काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकबाट भएका चार महत्वपूर्ण निर्णयबारे जानकारी दिनुभएको हो।
मन्त्री पोखरेलका अनुसार गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरिएको छ।
बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनका लागि प्रस्तावित सम्झौता स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गरी सुझाव दिन गठन गरिएको अध्ययन समितिको कार्यअवधि थप ४५ दिन बढाउने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै आयोगका सदस्यहरूमा अमिर प्रसाद न्यौपाने, पद्मनिधि सोती र डा. रोहना श्रेष्ठलाई नियुक्त गरिएको सरकारका प्रवक्ताले जानकारी दिनुभयो।
तपाईको प्रतिक्रिया