मंगलबार १९ जेठ २०८३
समाज

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

मंगलबार जेठ १९, २०८३/ Tuesday 06-02-26

वीरगन्ज । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीविरुद्ध दर्ता भएका दुई फरक कसुरसम्बन्धी मुद्दामा धरौटी लिएर छाड्न आदेश दिएको हो।

अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार रुपैयाँ तथा लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ धरौटी तोकिएको छ। अदालतको आदेशपछि सिंह धरौटी रकम बुझाउने प्रक्रियामा रहेका छन्।

मेयर सिंहविरुद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसअनुसार प्रहरीले उनलाई सोमबार बिहान पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।

यस प्रकरणमा पर्सा जिल्ला अदालतले सिंहसँगै सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

अभियोग अनुसार, राजेशमान सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नी छोरीका रूपमा देखाएर जन्मदर्ता गराएको र सोही आधारमा नागरिकता तथा राहदानी बनाउन सहयोग गरेको आरोप छ। अर्काकी छोरीलाई आफ्नो सन्तानका रूपमा दर्ता गरी आवश्यक कागजात तयार गरेर विदेश पठाइएको दाबी अभियोजन पक्षले गरेको छ।

सिंहविरुद्ध लिखतसम्बन्धी कसुर, झुटा विवरण पेश गरी नागरिकता प्राप्त गरेको तथा राहदानीसम्बन्धी कानुनी उल्लंघनका विषयमा मुद्दा विचाराधीन रहेको छ। तीमध्ये नागरिकता र लिखतसम्बन्धी कसुरमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सरकारी वा सार्वजनिक लिखत किर्ते गरेको ठहरिएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया