मंगलबार १९ जेठ २०८३
राजनीति

प्रतिनिधिसभा बैठक जेठ २५ सम्मलाई स्थगित

मंगलबार जेठ १९, २०८३/ Tuesday 06-02-26

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी राजनीतिक विवादका कारण प्रतिनिधिसभा बैठक पुनः प्रभावित भएको छ। विपक्षी दलहरूको निरन्तर अवरोधपछि मंगलबारको बैठक पनि सञ्चालन हुन नसकेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले सदन जेठ २५ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

प्रधानमन्त्रीले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको आशय व्यक्त गरेपछि विपक्षी दलहरूले त्यसप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूले उक्त अभिव्यक्ति सच्याउन वा प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएका छन्।

मंगलबारको बैठकमा विपक्षी सांसदहरू वेलमा उत्रिएर नाराबाजीसमेत गरेका थिए। विरोध जारी रहेपछि सदनको कारबाही अघि बढ्न नसकेको हो।

यसअघि पनि यही विषयलाई लिएर विपक्षी दलहरूले अडान कायम राखेपछि जेठ १८ गतेको बैठक सञ्चालन हुन सकेको थिएन। प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट जवाफ नआएसम्म संसद् अवरोध जारी रहने संकेत विपक्षी दलहरूले दिएका छन्।

तपाईको प्रतिक्रिया