काठमाडौं । प्रधानमन्त्रीको भारत–नेपाल सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा चर्को विरोध भएपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ।
मंगलबारको बैठक सुरु हुनासाथ राष्ट्रियसभा सदस्यहरूले प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका थिए। आकस्मिक समय लिएर बोल्दै सदस्य तुलप्रसाद विश्वकर्माले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भई आफ्नो अभिव्यक्ति फिर्ता लिनुका साथै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे।
उनले सीमा विवाद समाधानका लागि पहल गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्रीबाट नेपालले भारतको भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति आउनु राष्ट्र र नागरिकका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।
विश्वकर्मासहित अन्य सदस्यहरूले पनि प्रधानमन्त्रीको भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेका थिए। आकस्मिक समय सकिएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यसूची अघि बढाउन सदस्यहरूलाई सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि बैठक सञ्चालन हुन सकेन।
निरन्तर अवरोधका कारण अध्यक्ष दाहालले बैठक बुधबारसम्मका लागि स्थगित गर्ने घोषणा गरेका हुन्।
तपाईको प्रतिक्रिया