काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरूङको सेयर लगानी तथा अन्य सम्पत्तिको स्रोतबारे उठेका प्रश्नहरूको छानबिन गरिरहेको समितिको कार्यकाल पाँच दिनका लागि थप गरिएको छ। उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा रहेको समितिले मंगलबारदेखि लागू हुने गरी अतिरिक्त समय पाएको हो।
समितिका सदस्य तथा सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार गुरूङको बयान लिने तथा आवश्यक तथ्य र प्रमाणको अध्ययन गर्ने काम पूरा भइसकेको छ। अब समितिले आफ्नो प्रतिवेदन तयार पार्ने चरणमा प्रवेश गरेको उनले बताए।
समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता नेउपाने सदस्यका रूपमा रहेका छन्। मन्त्रिपरिषद्को वैशाख २३ गतेको निर्णयअनुसार गठन गरिएको समितिलाई सुरुमा १५ दिनको समय दिइएको थियो, तर निर्धारित अवधि सोमबार समाप्त भएपछि थप समय उपलब्ध गराइएको हो।
पूर्वगृहमन्त्री गुरूङले वैशाख ९ गते आफूमाथि विभिन्न प्रश्न उठेपछि पदबाट राजीनामा दिएका थिए। सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका दिपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए।
गुरूङले आफ्नो पदका कारण अनुसन्धान प्रक्रियामा कुनै प्रभाव नपरोस् र स्वार्थको द्वन्द्वको अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका थिए।
तपाईको प्रतिक्रिया