नेपाल–भारत सीमा विवादमा तेस्रो पक्ष स्वीकार्य छैन: भारत
काठमाडौं। नेपाल–भारत सीमा विवादमा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने भारतले पुनः स्पष्ट गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल र भारतबीचको सीमा सम्बन्धी विषय पूर्ण रूपमा द्विपक्षीय भएको बताउँदै यसलाई दुई देशबीच स्थापित संयन्त्रमार्फत नै समाधान गरिने बताएका हुन्।
नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले हालै संसद्मा नेपाल–भारत सीमा विवादका विषयमा बेलायत सरकारसँग समेत संवाद भइरहेको दाबी गरेपछि भारतीय पक्षको प्रतिक्रिया आएको हो। प्रवक्ता जयसवालले सीमा सम्बन्धी सबै विषयहरू नेपाल र भारतबीचकै संवाद तथा सहमतिमार्फत टुंग्याइने उल्लेख गर्दै बाह्य पक्षको कुनै आवश्यकता नरहेको बताएका छन्।
उनका अनुसार नेपाल–भारत सीमाको करिब ९८ प्रतिशत भागको सीमाङ्कन सम्पन्न भइसकेको छ भने केही सीमित क्षेत्रमा मात्रै सहमति हुन बाँकी छ। विशेषगरी नदीहरूको बहाव परिवर्तनका कारण केही स्थानमा प्राविधिक जटिलता र विवाद उत्पन्न भएको उनले बताए।
प्रवक्ता जयसवालले सीमाङ्कन सम्पन्न भइसकेका कतिपय क्षेत्रमा समेत सीमा अतिक्रमण तथा दसगजा क्षेत्र मिचिएका विषयहरू देखिएको उल्लेख गर्दै त्यस्ता स्थानहरूको संयुक्त रूपमा नक्साङ्कन र अध्ययन भइरहेको जानकारी दिए।
भारतीय विदेश मन्त्रालयले सीमा सम्बन्धी विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न नेपाल र भारतबीच प्रभावकारी द्विपक्षीय संयन्त्र सक्रिय रहेको स्मरण गराउँदै सीमा विवाद समाधानका लागि आपसी संवाद नै एकमात्र उपयुक्त माध्यम भएको जनाएको छ।
तपाईको प्रतिक्रिया