शुक्रबार २२ जेठ २०८३
राजनीति

लुम्बिनी प्रदेश सरकारमा फेरबदल, पाँच मन्त्री नियुक्त

बिहीबार जेठ २१, २०८३/ Thursday 06-04-26

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गरी नयाँ मन्त्रिपरिषद् गठन गरिएको हो।

पुनर्गठनसँगै पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन्। नेकपा (एमाले)बाट तुलसीप्रसाद चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री, रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री तथा डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्।

यस्तै जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उक्त मन्त्रालयको नेतृत्व आदेशकुमार अग्रवालले गर्दै आएका थिए।

प्रदेश सरकारका अनुसार सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण जेठ २५ गते हुने तय भएको छ। त्यसपछि उनीहरूले औपचारिक रूपमा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

मन्त्रिपरिषद् पुनर्गठनलाई प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम कार्यान्वयनलाई थप गति दिने कदमका रूपमा हेरिएको छ।

 

तपाईको प्रतिक्रिया