शुक्रबार २२ जेठ २०८३
खेलकुद

नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनोट

बिहीबार जेठ २१, २०८३/ Thursday 06-04-26

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै समूह ‘ए’ को विजेताका रूपमा अन्तिम चरणमा स्थान सुरक्षित गरेको छ। बिहीबार सिङ्गापुरस्थित राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गर्‍यो।

लगातार दोस्रो जित निकालेको नेपालले यसअघि चीनलाई २२१ रनले हराएको थियो। यस नतिजासँगै नेपाल समूहको शीर्ष स्थानमा रहँदै एसियन गेम्सका लागि छनोट भएको हो।

दुई सय ७६ रनको कठिन लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०८ रन मात्र बनाउन सक्यो। टोलीका कप्तान सयद अजिजले सर्वाधिक ५४ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। शर्विन मुनियान्डीले १८ तथा मोहमद हाजिकले १३ रन जोडे।

नेपालका लागि शेर मल्लले तीन विकेट लिएर उत्कृष्ट बलिङ गरे। सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा २७५ रनको विशाल योगफल तयार पारेको थियो। नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेल चम्किए। उनले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रनको विस्फोटक शतकीय इनिङ्स खेले।

यो प्रतियोगितामा कुशलको लगातार दोस्रो शतक हो। उनले पहिलो खेलमा चीनविरुद्ध पनि शतक प्रहार गरेका थिए। यस उपलब्धिसँगै उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। समग्रमा यो उनको तेस्रो टी–२० अन्तर्राष्ट्रिय शतक हो।

नेपालका अर्का ओपनर आशिफ शेखले पनि आक्रामक अर्धशतक प्रहार गर्दै २४ बलमा ६८ रन बनाए। उनले पाँच चौका र सात छक्का प्रहार गरेका थिए। कप्तान दीपेन्द्रसिंह ऐरीले ३१ रनको योगदान दिए भने सन्दीप जोराले १५, लोकेश बमले १० र कुशल मल्लले अविजित ९ रन जोडे।

मलेसियाका भिरनदीप सिंहले तीन विकेट लिए भने विजय उनई र कप्तान सयद अजिजले समान दुई–दुई विकेट लिए।

नेपाल र मलेसिया दुवैले यसअघि नै एसियन गेम्समा स्थान सुरक्षित गरिसकेका थिए। लगातार दुई हार बेहोरेको चीन भने प्रतियोगिताबाट बाहिरिएको छ।

समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर प्रतिस्पर्धामा रहेका छन्। प्रतियोगिताको नियमअनुसार प्रत्येक समूहका शीर्ष दुई टोली एसियन गेम्सका लागि छनोट हुनेछन्।

तपाईको प्रतिक्रिया