शुक्रबार २२ जेठ २०८३
खेलकुद

टी-२०आईमा कुशल भुर्तेलको लगातार दोस्रो शतक

बिहीबार जेठ २१, २०८३/ Thursday 06-04-26

 काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्।

एसियन गेम्स छनोटअन्तर्गत बिहीबार मलेसियाविरुद्ध भइरहेको खेलमा भुर्तेलले केवल ४४ बलमा शतक पूरा गरेका हुन्। यो उनको टी-२०आई करियरको तेस्रो शतक हो।

यसअघि उनले चीनविरुद्धको खेलमा ३५ बलमै शतक बनाएका थिए। उक्त खेलमा भुर्तेलले ४३ बलमा १२९ रनको शानदार इनिङ्स खेलेका थिए।

लगातार दुई टी-२०आई खेलमा शतक बनाउने भुर्तेल पहिलो नेपाली क्रिकेटर बनेका छन्। साथै, अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने उनी विश्वका १०औँ खेलाडीसमेत हुन्।

मलेसियाविरुद्धको खेलमा भुर्तेलले ५४ बलमा १२६ रन बनाए। उनको इनिङ्समा १४ चौका र ८ छक्का समावेश थिए।

भुर्तेलले आफ्नो पहिलो टी-२०आई शतक सन् २०२२ मा फिलिपिन्सविरुद्ध प्रहार गरेका थिए। हाल उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्रिकेटमा नयाँ इतिहास रचिरहेका छन्।

तपाईको प्रतिक्रिया