धवल शम्शेरसहित १८३ जना नेताहरूले छाडे राप्रपा (सूचीसहित)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही शीर्ष पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी छोड्ने निर्णय सार्वजनिक गरेका छन्।
बिहीबार जारी गरिएको संयुक्त वक्तव्यमा पार्टीका महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठलगायत केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा कार्यकर्ताले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
पार्टी नेतृत्वमा बढ्दो वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र आत्मकेन्द्रित कार्यशैलीका कारण आफूहरू यस्तो निर्णयमा पुग्न बाध्य भएको उनीहरूको भनाइ छ। वक्तव्यमा नेतृत्वले पार्टीको मूल आदर्श ‘संवैधानिक राजसंस्था’ बाट विचलित हुँदै केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारी कार्यक्रममा सहभागिता जनाएको आरोप लगाइएको छ।
राजसंस्था पुनर्स्थापनालाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाएको पार्टीले गणतन्त्र सुदृढीकरणको पक्षमा रहेको सरकारसँग सहकार्य गर्नु गम्भीर राजनीतिक विरोधाभास भएको उनीहरूको तर्क छ।
त्यसैगरी, पार्टीभित्र विधानविपरीत गतिविधि, निरंकुश शैली र आन्तरिक लोकतन्त्रको अभाव बढ्दै गएको आरोप पनि उनीहरूले लगाएका छन्। २०८२ सालको निर्वाचनमा अधिकांश उम्मेदवारको जमानत जफत हुनु र जनविश्वास कमजोर बन्दै जानुलाई नेतृत्वको असफलताको परिणामका रूपमा व्याख्या गरिएको छ।
वक्तव्यमा विधान कार्यान्वयनको माग उठाउँदा उल्टै कारबाहीको सामना गर्नुपरेको, साथै जेठभित्र महाधिवेशन सम्पन्न गर्ने वैधानिक निर्णयसमेत बेवास्ता गरिएकाले पार्टीभित्र बस्ने वातावरण समाप्त भएको उल्लेख गरिएको छ।
संस्थापक नेताहरूको योगदानको अवमूल्यन र नयाँ पुस्ताको उपेक्षा भएको आरोप लगाउँदै उनीहरूले राजसंस्था पुनर्स्थापनाको अभियानलाई वर्तमान नेतृत्वले नै कमजोर बनाएको दाबी गरेका छन्। यससँगै उनीहरूले आजकै मितिबाट पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गरेका छन्।
पार्टी त्यागेका नेताहरूका अनुसार धवलशमशेर राणाको नेतृत्वमा निकट भविष्यमै नयाँ राजनीतिक दल गठन गर्ने तयारी भइरहेको छ।
-1780559464.jpeg)
-1780559464.jpeg)

-1780559464.jpeg)

-1780559464.jpeg)
तपाईको प्रतिक्रिया